कला / साहित्यबागमतीशिक्षा

फुर्सदको समय यसरी सदुपयोग गरौँ

जानुका न्यौपाने
२९ जेठ २०७८

जसरी पनि चुल्हो र जीवन चल्दो रहेछ आखिर मान्छेको । २०१९ को डिसेम्बरतिर चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले सारा विश्वलाई आक्रान्त बनाइरहेको थियो । करिब तीन महिनापछि नेपाल पनि अछुतो हुन सकेन । महामारी नेपालका लागि नयाँ चाहिँ होइन रहेछ । सुनिन्थ्यो पहिले पहिले हैजा, दादुरा र विफरले गाउँ नै सखाप भएका घटना ।


शुरुमै शर्तकता नअपनाउँदा विकसित राष्ट्रहरुलाई पनि आँखाले देख्न नसकिने यो भाइरसले हालसम्म आछुआछु पारिरहेको छ । यसले धनी गरिब, युवा, वयस्क, महिला या पुरुष केही भन्दो रहेनछ । हाम्रो जस्तो स्रोत साधन नभएको, व्यवस्थित स्वास्थ्य उपचार पद्धति नभएको देशको लागि बन्दाबन्दी नै संक्रमण नियन्त्रणको उपाय रहेछ । तर श्रमजीवी र विपन्न वर्गका लागि राज्यले संवेदनशील भएर सोचे मात्र बन्दाबन्दी सार्थक हुनेछ । विभिन्न अवस्थामा बन्द, हड्ताल, कर्फयू आदेश सहेका हामी नेपाली बन्दाबन्दीसँग अपरिचित थियौं । यो चाहिँ आदेश नभई अनुरोध रहेछ सरकारको । अनुशासनमा बस्ने समय रहेछ बन्दाबन्दी ।


केही समय अगाडिसम्म मज्जाले चलिरहेको दैनिकी अहिले एकाएक परिर्वतन भएको छ । अधिकाँश समय बाहिर बिताउने म अहिले दिनभरि घरमै बसिरहेकी छु । एउटा भाइरसले यो संसारलाई ठप्प पारेको छ । हिजो अस्तिसम्म सबैलाई हतार मात्र थियो आफ्नो गन्तव्यमा पुग्न । भागदौड गरिरहेका थियोैं एकले अर्कोलाई उछिन्न । मात्र काम ! काम ! काम ! कति घमण्ड थियो विज्ञानले गरेका प्रगति र सफलताहरुमा । आधुनिक जीवनको सुखभोग गर्न, धन आर्जन गर्न तछाड मछाड गरिरहेका थियौं । तर अहिले साथीहरुसँग भेटघाट नगर्दा, गाउँ घर आफन्त कहाँ नजादा, साथीभाइसँग बसेर रमाइलो नगर्दा नि हुन भयो । यसै बेला हामीले बिर्सेका राम्रा संस्कृतिलाई जीवन पद्दतिमा उतार्ने बेला बनेको छ । विगतमा गरेका कमजोरीलाई सपार्दै आफू सच्चिने अवसर मिलेको छ । मन शान्त राखेर सकारात्मक सोच सहित आफैंलाई चिन्ने अवसर मिलेको छ । बोलीलाई नियन्त्रणमा राखेर आत्मसंयममा बस्न खोजिएको छ ।


यो महामारीको नकारात्मक असर होला दैनिक सामाजिक सञ्जाल हेर्दा, समाचार सुन्दा साह्रै मन आत्तिन्छ । शुरु शुरुमा त आफ्नै हातमाथि शंका लागेको थियो । साबुन पानीले हात धुँदा धुँदा हात नै चाउरी परेर आगोले पोलेजस्तै भतभत पोल्न थालेको छ । मलाई कहिलेकाहिँ लाग्ने गरेको थियो आवणविक अस्त्र र हतियारले मात्र मान्छे डराउँछ होला ? तर आज सोचिरहेको छु कि आँखाले देख्न नसकिने एउटा जीवाणुले मान्छे डराएको छ । आफ्ना आफन्तहरुसँग डराएको छ । घरका चुकुल, हेण्डिल, देखिने हरेक वस्तु दिनदिनै सेनिटाइज भएका छन् । पढ्न लेख्न त परै जाओस् केही गर्न मन नलाग्ने भएको छ । अति अत्याउने समाचार देखिने डरले सामाजिक सञ्जाल हेर्न पनि असहज लाग्न थालेको छ । आफ्ना वरिपरिका बस्तुहरु पनि बिराना लाग्न थालेका छन् । जे छोए पनि कोरोना आएजस्तो लाग्न थाल्यो । राति निद्रा पर्न गाह्रो भयो । आइहाले पनि सपनामा पनि कोरोनाकै झल्याकझुलुक पो देखिने । सपना भनेकै हाम्रै मनको प्रतिछाँया त रहेछ नि साँच्चै हाम्रो शरीर स्वस्थ हुन मन पनि स्वस्थ हुनु पर्दो रहेछ । आखिर मान्छे न हो । बिस्तारै जस्तोसुकै दुःख, पीडा, शोक, हर्ष सबैमा बाँच्न सिक्छ । कत्तिञ्जेल डराएर बस्ने र ? बन्दाबन्दीको समयमा विस्तारै मन शान्त हुँदै आउला कि भनेको त निरन्तर हामीले धेरै व्यक्तित्वहरु गुमाउनु प¥यो । घरका सदस्यलाई पनि संक्रमण भएपछि एक अर्कामा टाढै रहनु प¥यो । झन डरै डरले सोच्दा त हामी मान्छे नभएर केवल यन्त्र पो भएछौं कि जस्तो लाग्यो ।


पत्तै पाइनछु आफैंसँग भएका तनाव व्यवस्थापनका उपाय । जब सामाजिक सञ्जालमा सकारात्मक सूचनाहरु मात्र हेर्न थालें । तब भने मनले केही राहत पाउन थाल्यो । सकारात्मक सोच भएका भनाइहरु पढ्न थालेपछि मन शान्त हुन थाल्यो । बिस्तारै किनेर मात्र थन्क्याइएका केही पुस्तकहरु पढ्न थालें । नित्यकर्म घरायशी मेरो दैनिकी केहीहदसम्म सहज रुपमा फर्किन थालेको छ । कोरोनाको सन्त्रासले बन्द भएको मनसँगै आँखा र कानहरु विस्तारै खुल्न थालेका छन् । सुन्न छोडेको रहेछु आफ्नै घरमा गुड लगाएका गौंथली र भंगेराको चिरबिर अहिले सुन्न थालेको छु । सधैँ झैँ उस्तै थिए आवाज । म मात्र डराएकी रहिछु । केलाउँदै गरेको चामल अलिकति छरिदिएँ । भुर्र उडेर आए चारो टिप्न । अहो ! यिनीहरु त कहाँ डराएका रहेछन् र ? कोरोनाको डरले भुलेछु सबै आनन्दहरु । मेरो नजर दौडदैं गयो आँगनको छेउको गुलाफको बोटमा मगमगाउँदै रहेछ गुलाफी रंगमा । उफ्रिरहेको रहेछ फूलको बोटमा फिस्टे फुत्रुक !! फुत्रुक । उता परबाट कोइली निर्धक्क गाइरहेको थियो । अहो हर्षले गद्गद् भयो मन आनन्दले पुलकित भएँ ।


जंगलमा भएको आगलागी र डढेलोले बिगारेको यसपालीको वातावरण बन्दाबन्दीले अलि सफा र खुलेको छ । वसन्तको आगमनलाई स्वागत गर्दै प्रकृति झन् हराभरा देखिएको छ । प्रकृति आफैं स्वतन्त्र छ । जनावरहरु स्वतन्त्र छन् । हामी पो कैदी भएछौं । साँच्चै जनावरलाई थुनेर राख्दा कस्तो हुन्छ होला ? अनुभव गर्दै थिएँ, निरीह र लाचार भएर पशुजस्तै । साँच्चै बन्दाबन्दी भन्दा अगाडि हामी यन्त्रवत जीवन बाँचिरहेको रहेछौं । घरका आफैंले सञ्चय गरेका कतिपय बस्तुहरु बिर्सिसकेकी रहेछु । म त्यति व्यस्त मानिस त हैन तापनि रोपेर स्याहार नपाएका फूलका बोटहरुले यसबेला न्यानो महशुस गर्दैछन् । फुल्न थालेका छन् फुलहरु अझ हाँसेर । आकाश खुलेर सफा भएको छ । उसैगरी सूर्य उदाएको छ र चन्द्रमा शीतल छरिरहेको छ ।


हाम्रो पूर्वीय प्राकृतिक परम्पराले यस्तो असहज परिस्थितिसँग लड्न प्रशस्त मानसिक शक्ति प्रदान गर्दो रहेछ । चराचुरुङ्गी, जीवजन्तु र बोटबिरुवालाई माया गर्दा थाहा नपाई मनमा सन्तुष्टि हुँदो रहेछ । अहिलेका जस्ता बजारमा पाइने खानपान कहाँ थिए र पहिले पहिले ? शुद्ध घरका खानेकुराहरु हुन्थे । जुन वर्षदिन भण्डारण गरेर राखिन्थ्यो । ति खानेकुराहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने र पौष्टिक हुन्थे र हाम्रा नियमहरु पनि त कति वैज्ञानिक रहेछन् अहिले सोच्दैछु म । इष्टमित्र, साथीभाइ र मान्यजनलाई नमस्कार गर्ने चलन त हाम्रो पूर्वीय परम्परा हो नि । भनिन्छ नि सनातन संस्कृति एउटा धर्म होइन जीवन जिउने कला हो । साँच्चै हाम्रा पुर्खाहरुले दुःखलाई भुलेर सुखी जीवन जिउने कला जानेका रहेछन् ।


यदि अहिलेको महामारीको संकटकालबाट हामी बाँचियो भने पछिका पुस्ताले सोध्नेछन् र हामीले यस कोरोना महामारीको अनुभव सुनाउने छौं । अहिले लाग्छ हाम्रा पूरा सामाग्रीहरु कति उपयोगी रहेछन् । यतिखेर कोरोना भाइरस स्टिल र प्लास्टिकमा कम्तीमा दश घण्टादेखि बढीमा दश दिनसम्म सक्रिय हुन्छ रे । काठ, कपडा या अन्य वस्तुमा दुई घण्टामा निस्क्रिय हुन्छ भनेर विज्ञले बताएका तथ्य पढिरहँदा हाम्रै पुराना भान्छाका सामाग्री सम्झिरहेछु । गाग्री, डोको, डालो, ढकी, नाङ्लो, हर्पे, थुन्से, घ्याम्पो, ठेकी, बेल्ना चक्ला आदि त सबै संक्रमण जोखिम कम भएका सामाग्री पो रहेछन् । अचेल त यी सबै सामान लगभग विस्थापित भइसके । यिनिहरुको ठाउँ प्लाष्टिक र स्टिलका सामानले ओगटी सके ।
जसरी घरिघरि साबुन पानीले हात धुनाले कोरोनाको चेनलाई हटाउँछ भन्छन् विज्ञहरु । त्यसैगरी यस्ता विपत्ति, महामारीले मान्छेलाई मानवताको नजिक लगेको छ । जीवनको अर्थ बोध गराएको छ । मै हुँ भन्नेहरुको सेखी झारेको छ । अहमता नष्ट गरेको छ । वास्तवमा शक्ति सामथ्र्य र बल हुञ्जेल हामीमा दम्भ हुँदोरहेछ । अहम हुँदोरहेछ । मानव भएर बाँच्न त अहमता त्याग्नै पर्ने रहेछ । जिस्क्याइरहेका छन विगतका हाम्रा अहमपूर्ण व्यवहारहरुले । खुशी त आफैं भित्र रहेछ । व्यर्थ दौेडेका रहेछौं सुनको मृगको पछि पछि । कोरोनाले सिकाएको छ पाठ । मज्जाले बाँच्न जान्नु पर्ने रहेछ सीमाभित्र रहेर । स्नेह र आत्मिक आनन्द बाहेक अरु ऐश्वर्य त भ्रम रहेछ ।


अहिले हामी विश्वकै इतिहासको अति संवेदनशील अवस्थामा छौं । यसबेला भ्रामक सूचनाहरु संप्रेषण नगरी र नहेरी संयमित भएर कोरोनासँग बाँच्नु छ । विज्ञहरु भन्छन् अझै अर्को नयाँ भेरियण्ट सहितको कोरोना आउनसक्छ । यसबेला हामी जो जो जहाँ छौं त्यहीँ सुरक्षित बसौं । यसबेला संक्रमण हुनबाट बच्नु नै बुद्धिमानी हुनेछ । बाहिर निस्केर डुल्दैमा केही जितिदैन । समय परिवर्तनशील, गतिशील र बलवान छ । कोरोना र मानव बीचको लडाईंमा हामीले अवश्य जित्नु छ । फेरि हामी स्वतन्त्र हुनेछौं । निश्चयनै कोरोना मुक्त भइ स्वतन्त्र भएर हिडने दिन आउनेछ ।

सम्बन्धित समाचार