कला / साहित्यबिचार / ब्लग

अन्तिम सत्यकाे खाेजी

जानुका न्यौपाने

जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको अन्तिम परिणाम हो मृत्यु । यो रस्सकाकस्सीमा कसले जित्छ भन्ने एउटा सुल्झाउनै नसक्ने प्रश्न बनेर खडा भएको छ मानव जीवनमा । मेरो लागि अनुत्तरित प्रश्न अनि सबैका लागि । यो रस्साकस्सीको खेल शुरु भएपछि जिन्दगी सकिएर मृत्यु भैहाल्दो रहेछ अनि मानिस मरेर लास÷शव, परिणाम आउने बेलामा न त मानिस रहन्छ न त उसको जिन्दगी । यहाँ मृत्यु र मानिसको रस्साकस्सीमा कुनै सहमति र समझदारीको अवसर नै छैन । मृत्यूसँग रस्साकस्सी गर्नेले त अन्तिमसम्म महसुश पनि गर्न पाउँदैन, त्यसको अन्तिम फैसला त डाक्टरले, अनि कुरुवाले पो गरिदिनु पर्दो रहेछ । फलानोको निधन भयो भनेर ।


सबैलाई थाहा छ मृत्यु मानिस जन्मिंदै जोडिएर आएको एउटा सत्य हो । जुनकुरा जिन्दगी जिउने हर मानिसले बुझेकोछ । तर, पनि मानिस जसरी, जहाँ, जहिले मरे पनि मृत्यू भने असामयिक नै ठहरिन्छ । सय वर्ष कटेको ज्येष्ठ नागरिक होस् वा सय दिन पनि नकाटेको शिशु, मृत्यु सबैको असमायिक नै लाग्छ । यस्तो किन पनि भने, मृत्यु आउँछ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे कहिल्यै प्रतिक्षा गर्दैन । त्यसैले होला हामीलाई पशुपति अंकलको मृत्यूको आगमन कसैले पछाडिबाट आएर आँखा छोपे जस्तै अप्रत्याशित, असामयिक लागेको छ । हामीलाई अझै विश्वास लागेको छैन कि उहाँले हामीलाई छोडेर जानु भयो यस संसारबाट भन्ने ।


जति मिति बाँचे पनि कहिल्यै प्रशंसा सुन्न नपाइने संसारमा मृत्यु व्यक्तिको एउटा राम्रो सुन्न पाइने दिन पनि हो रहेछ जस्तो पनि लाग्छ । बाँचुञ्जेल नानाथरी गाली खाएर अपहेलना सहेर बाँचेको मान्छे मर्ने वित्तिकै असल, आँखमा राखे पनि नबिझाउने भैहाल्छ । दुष्टलाई पनि मरेको दिन तिम्रो केही गल्ती भए पनि धेरै कुरामा असल थियो है भनेर राम्रै कुरा हुन्छ । त्यस्तो छिमेक, समाज, संस्कार भएको जिल्ला अनि देश हो हाम्रो नेपाल । तर, पशुपति चौलागाईंको नाममा सामाजिक सञ्जाल, समाचार, परिवार, समाज, जिल्ला अनि राज्य नै रोएको छ । जहाँ प्रशंसा मात्र होइन उहाँले दिएको शिक्षा, ज्ञान, सीप, सबै व्यवहारमा लागू गर्नेछौं भन्ने प्रतिवद्धता व्यक्त पनि भएका छन् । त्यस्तो अभिभावक, देशकै नेता हो कि जीवित रहँदा पनि निस्वार्थ भावना भएको व्यक्तित्व, जसको प्रशंसा मात्र गरेर पुग्दैन उहाँले अवलम्वन गरेको व्यवहारलाई सबैले अनुसरण गर्नु आवश्यक छ । उहाँका अधुरा सपना सबै मिलेर पूरा गर्नुपर्छ अब ।


हो हाम्रो व्यवहार अघिल्लो दिन मरेस भन्ने मान्छे भोलिपल्ट कठै ! बिचरा मरेछ भनेर दुखेसो गर्ने रहेको छ । यसरी अरुलाई जीवीत छउन्जेल सरापेको आधारमा कानुन लाग्ने हो भने त हरेक छिमेकी मर्दा उसका छिमेकी, नातागोता, चिनेजानेका धेरैजसो कारागारमा कैद भैसकेका हुनेथिए होलान् । उस्तै परे छाती ठोकेर अंश दाबी गर्ने छोराहरु पनि दागबत्ती दिने बेलामा कारागारमा नै भेटिन्थे होलान् । जसले जे भने पनि हामीले भने देशकै निष्ठावान नेता, जिल्लाकै अभिभावक गुमाउनु परेको छ । जे जस्तो सहेर भए पनि सबैसँग नमरुन्जेल बाँच्नै पर्ने जिन्दगी छ र सबैले मर्नु पर्ने निश्चित छ । नत्र संसारै नछोडी पनि मान्छे कयौं पटक मर्छ । हो हामी त्यस्तै मर्माहत भएका छौं । हामी अहिले मर्माहत, भावविव्हल भएर बाँच्न विवश छौं । मानिसको मृत्यु कुनै रोगव्याधी, दुर्घटना वा भवितव्यमा परेर नै हुने गर्छ । तर, हामीलाई अहिले सपना जस्तै लागेको छ ।


संसार छोडेरै जानेगरी मर्ने प्रकृयालाई हेर्ने हो भने मानिस लडेर, बगेर, पुरिएर, ठोकिएर, गाडि पल्टीएर, बाढी पहिरोमा पुरिएर, जलेर, काटिएर, झुण्डिएर यस्तै यस्तै विविध प्रकारले मृत्युवरण गर्छ । तर मृत्यु खासगरी दुई किसिमबट मात्रै हुन्छ । मरण र शरण । मरण यमराजले मिति तोकेर मृत्युवरण गर्ने अर्काे शरण भनेको व्यक्ति स्वयंलाई विभिन्न कारणले यस धर्तीमा बस्ने इच्छा पूरा भएपछि अर्थात् आफूलाई विकल्प विहीन ठानेर यमराजको ढोका ढक्ढक्याउन पुग्ने ।


हुन त शास्त्रीय भनाई अनुसार पनि मृत्यु केवल शरीरको हुन्छ र आत्मा कहिल्यै मर्दैन भनिन्छ । यसै भएको होला । जे होस् उहाँले देखाएको बाटो हिड्ने मन लागोस् सबैलाई । हामी कहिल्यै नभुलौं उहाँको योगदानलाई । होला शास्त्रमा नेलेखेको कुरा मानिसले स्वघोष गरेरै होला भन्ने गरेका छन् राम्रा मान्छेलाई भगवानले पनि चाँडै लैजान्छन् । तर, मलाई लाग्छ भगवान साँच्चिकै भइदिएको भए त उहाँका सपना, योजना अधुरै पारेर लाने थिएन होला । यो कुरा सत्य हो होइन, यदि सत्य हो भने पनि हामी माथि भएको घोर अन्याय हो । भनिन्छ स्वर्ग व्यवस्थित हुन्छ रे । त्यस्तो व्यवस्थित स्वर्गमा अझै राम्रा मान्छे लैजाने अनि हामी बाँचेको धर्तीमा अस्तव्यस्त बनाउँने कस्तो लिला हो यो ? यसरी मृत्युको चर्चा गर्न थाल्यो भने मानिसले मृत्यूकै मुखमा पुगुन्जेल पनि वर्णन गरेर भ्याउँदैन । हो त्यस्तै महशुस भएको छ अहिले हामीलाई । किन हामीलाई अस्तव्यस्त बनाएर हाम्रा अभिभावकलाई लगेको होला ?


आफ्नो पछाडि परिवार, समाज, जिल्ला अनि सिंगो राज्य छोडेर गएपनि, आफ्नो पछाडि मात्र एउटा लौरो छोडेर गए पनि मृत्यु त एउटै हो दुबैथरी । मृत्युले दुबैलाई एकै किसिमको नांगो बनाउँछ । मृत्युले दुबैलाई एकै किसिमको रित्तो बनाउँछ । हल्का किसिमले सुख अनि दुःख उडाएर लैजान्छ । तिनीहरुका अहम् संकोचहरु अहो मृत्यु कस्तो जिन्दगीलाई चिन्न खोज्नेहरुका लागि मित्र । मलाई मृत्यु हाम्रो जीवनको प्रवेशद्वार जस्तो लाग्छ किनकि मृत्युले केवल मानिसहरु बीच भाइचारा दिएर जान्छ, केवल भाइचार मात्र दिएर जान्छ । हो हामीलाई पशुपति अंकलको मृत्युले लौरो मात्र हैन परिवार, समाज, जिल्ला, राज्यनै छोडेर अनि सम्पूर्ण रुपमा भाइचार दिएर मर्मस्पर्शी बनाएर गएको छ । मलाई धेरै भन्न मन लागेको छ तर अहिले सकिन यति नै उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

सम्बन्धित समाचार