बिचार / ब्लगशिक्षा

महिलाहरुले अझै डट्नु पर्छ

जानुका न्यौपाने

नेपालमा संविधानले समानताको अधिकारको व्यवस्था गरेको छ । यो अत्यन्तै खुशीको कुरा हो । व्यवहारमा के कति लागू भएको छ भन्ने पक्ष फरक रुपबाट विश्लेषण गर्नु पर्छ होला । अत्यन्तै सकारात्मक पहल भएका छन् महिलाका लागि । देवानी तथा फौज्दारी संहिता २०७३ ्ले पनि धेरै प्रावधानहरु राखेको छ महिलाहरुको अधिकार सुनिश्चित र्गनका लागि ।
तर,यतिबेला हाम्रो नेपाली समाजमा महिला हिंसाका घटनाहरु बग्रेल्ती रुपमा उठ्न थालेको छ । भनिन्छ समय गतिशिल छ भनेर । समय बलवान पनि हुँदो रहेछ, समयले हरेक मानवको चेतनास्तर पनि समयानुकुल बढाउँदै लैजाँदो रहेछ । शायत परिर्वतनको नाममा विभिन्न वहानामा असहाय र निरिह महिला माथि जघन्य अपराधका घटनाहरु एक पछि अर्को गरी श्रृंखलाबद्ध ढंगबाट बढीरहेका छन् । हरेक बिहानी मेरो नित्यकर्म भनेको आजको ताजा खबर के छ ? कहाँ कहाँ के के भइरहेको छ ? भनेर नयाँ खबरहरु बारे अध्यावधि हुने नै हो । त्यसरी हेर्दा हरेक बिहानी आउने ताज खबर बोकेर आउने सञ्चार माध्यमहरु महिला हिंसाका घटनाहरु बोकेरै आएको हुन्छ । लामो इतिहास छ हाम्रा सामु हाम्रा अगुवा महिलाहरुले महिला अधिकारका लागि लडेको । सती प्रथा देखि लिएर अहिलेको ३३ प्रतिशत सहभागिताको अवस्थामा आउँदासम्म । कति धेरैले आफ्नो जीवन यसैगरी अधिकारका लागि नै जीवन आहुती दिएका छन् ।
जतिसुकै अधिकारका नारा लगाइ पनि महिलाको अवस्थामा भने सन्तोषजनक परिर्वतन र अपेक्षकृत अर्थपूर्ण सहभागिता हुन सकेको छैन भन्ने कुरा पछिल्लोसमयको ताजा घटनाक्रमले प्रष्ट पारेको छ । हरेक घटनाले प्रत्येक महिलाको सुरक्षा माथि धावा बोलरिहेको महशुस हुन थालेको छ । लाग्छ महिलाहरु हिंसा भोग्नकै लागि यस धर्तीमा जन्म लिएका हुन कि जस्तो । यौन पिपासुहरुको यौन चाहना पुरा गर्नकै निमित्त महिलाको जन्म भएको हो भन्ने जस्तो पो ठानेका छन् पिपासुहरुले । आफ्नो इच्छा अनुकुल हुने गरी जिउँने अधिकार कहाँ छ र महिलालाई अहिले पनि ? जीवन र मरणको दोसाध्मा रहेर बच्चालाई जन्म दिने हिम्मत गर्ने महिला जसलाई सहनशीलताकै आधारमा धर्ती माताको संज्ञा दिने गरिन्छ । तर, आफ्नै आमाको सम्मान गर्न नसक्ने यो समाज अनि नाम भने धनकी देवी, विद्याकी देवी, शक्तीकी देवी भनेर ढुंगाको मूर्तिलाई पूजा गर्छ । तर, महिला आफैं सिंगो मानव भएर बाँच्न नपाएको अवस्था छ यहाँ ।
हामी सूचाना, सञ्चार र प्रविधिको युग अनि एक्काइशौ शताब्दीको युग भनेर र्कुलेर हिड्ने गरिन्छ र पनि यस युगमा जीवन जिइरहँदा पनि लिंगकै आधारमा गरिने विभेदबाट हाम्रो समाज मुक्त हुन सकेको छैन, मुक्त बनाउन सकिएको छैन । महिला र पुरुष एक सिक्काका दुई पाटा, एक रथका दुई पांग्रा भनिए तापनि व्यवहारमा भने आकाश र जमिनको फरक भएको अनुभूति सबैको सामु जग जाहेर छ । पितृसत्तात्मक सोचले भरिएको हाम्रो मानसिकता, समाज, सोचले सजिलै महिला र पुरुषको कार्य विभाजन क्षमताको आधारमा नभई महिला वा पुरुष भएकै कारण गर्ने गरेको पाइन्छ । जसको प्रत्यक्ष असर समग्र महिलाहरुलाई परिरहेको छ । त्यसैले महिलाहरुको बारेमा देशको संविधानले, कानूनले अधिकारको व्यवस्था गरेको भए तापनि व्यवहारिक जटिलता यथास्थानमा रहिरहेको छ । समान शिक्षाको कुरा गर्दा त्यहाँ पनि विभेदनै रहेको छ जसले गर्दा महिलाहरुको आर्थिक अवस्था परर्निभरतामा आधारित दयनीय अवस्थामा गुज्रिएको छ । जबसम्म महिलाहरु शिक्षा र आर्थिक रुपमा सबल हुँदैनन तबसम्म महिलाका लागि मानव अधिकारका नारा कुहिरो काग जस्तो मात्र हुनेछ ।
एक व्यक्तिले गरेको कुनै काम, व्यवहार अर्को व्यक्तिलाई असहज अनुभूति हुनु नै हिंसा हो भन्ने बुझ्न सक्नु पर्छ । महिला भएकै कारणले नियतवश नै गरिने असहज तथा गलत व्यवहारलाई महिलामाथि हिंसा भएको ठहरिने छ । हाम्रो समाजमा विभिन्न शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, समाजिक, परम्परागत साँस्कृतिक हिंसा, राज्यद्वारा गरिने हिंसा जस्ता हिंसाहरु व्यापक रुपमा विद्यमान छन् । वर्तमान महिलाको अवस्थालाई विश्लेषण गर्दा हिजोको भन्दा आज झन जटिल बन्दै गएको छ । महिला घरभित्रदेखि बाहिरसम्म कहीँ पनि सुरक्षित रहन र महशुस गर्न सकिरहेका छैनन् । दिनहुँ बिहानै सूचमना लिएर ढोका ढक्ढकाउने सञ्चार माध्यममा बलात्कारका घटनाको समाचारले पेज भरिने गर्दछ । बिबाह गर्न नमानेर होस् वा प्रेम सम्बन्ध गरेको परिवारलाई चित्त नबुझेर होस्, या दाइजो नपुगेर वा विभिन्न शंका र आरोपका कारण किन नहोस् हत्याको शिकार बन्दैछन् महिला । अझ कसैको प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण एसिडले कुरुप बन्ने क्रम दिनानुदिन बढ्दै गएको छ । यसका लागि कडा भन्दा कडा कार्वाही गर्ने भन्ने बारेमा वर्तमान सरकार पनि छलफलमा रहेको छ । आफूलाई जन्मदिने बाबुबाट नै बलात्कारको पीडा असह्य भएर आत्महत्या गर्नेको संख्या पनि बढेको पाइन्छ । सामूहिक बलात्कारका घटना बढ्दै गएको छ । कयौं आमा, दिदीबहिनीहरुले दानव रुपी यौन पिपासुहरुको शिकार बनेर यस्ता पीडा लुकाएर अधमर्दो जीवन जिइरहेका छन् भने केहीले खुलेर आफ्ना समस्या लिएर बाहिर आउने क्रम पनि बढ्न थालेको छ ।
पछिल्लो समयमा धेरै समानताका कुरा गरिरहेका छौ तापनि व्यवहारमा भने सधैं हिंसा, अपमानको चपेटामा पर्नु परिरहेको छ महिलाहरुले । त्यसैले होला महिला अधिकार र हिंसा अन्त्यको लागि निरन्तर लडेको लामो समय भएपनि यत्तिका वर्ष वितिसक्दा पनि महिला हिंसा मुक्त समाज निर्माण गर्न सकिरहेको छैन । हिजैदेखि तपाईं हामीमा जरा गाडेर बसेको पित्तृसत्तात्मक सोंचलाई परिवर्तन गर्न नसक्दा महिला मुक्तिको आवाज त्यसै गन्गन, झन्झटिलो, व्यर्थ बन्दै सेलाएर पो जान थालेको छ । सदियौंदेखि बलात्कार, घरेलु हिंसा, चेलीबेछटी बेचबिखन, सार्वजनिक वा कार्यस्थलमा हुने हिंसा, बालबिबाह, बोक्सी, दाइजो, मानसिक, शारीरिक यातना तथा विभेदकारी व्यवहारको शिकार बनेका महिलाहरुको अवस्थामा खासै गुणात्मक, परिमाणात्मक र सन्तोषजन परिवर्तन हुन सकिरहेको छैन । महिला हिंसा न्यूनीकरण र समानताको आन्दोलनले दशकौं पार गरिसक्दा पनि प्रत्येक व्यक्ती, घर, परिवार, समाज, अनि राष्ट्र महिला हिंसा र विभेद मुक्त हुनु पर्नेमा नभइ प्रत्येक महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको शिकार बनिरहेका छन् । यी सबै गलत व्यवहार परिवर्तनका लागि पितृसत्तात्मक सोच भएको व्यक्ति, परिवार, समाज अनि राज्यका हरेक निकाय नै बाधक बनेको महशु गरिरहेका छन् महिलाहरुले ।
लैंगिक हिंसा वर्षको रुपमा नेपाल सरकारले २०१० लाई घोषणा गरेदेखि अहिलेसम्म आइपुग्दा विदेशमा मात्रै होइन स्वदेमै पनि नेपाली महिलाहरु बेचिएका छन् । राम्रो काम लगाइदिने वा जागिर खुवाइदिने वाहना र प्रलोभन देखाएर ललाई फकाई रेष्टुँरामा बेचिएका छन् । रेष्टुँरा सञ्चालकको दवावमा यातना दिएर वा प्रलोभनमा पारेर यौनजन्य कार्यमा लगाइएका छन् यी र यस्ता थुप्रै गलत व्इवहार छन् त्यस्ता गलत व्यवहारहरुलाई नरोकेसम्म हिंसा मुक्त समाजको परिकल्पना असम्भव छ । आर्थिक विपन्नताको फाइदा लुटेर ज्येष्ठ नागरि वा वृद्धा आमालाई बोक्सीको आरोप लागाएर कुटपीट, मलमुत्र खुवाउने मात्र नभइ समाजबाट निकाल्ने घट्नाहरु पनि दिनानुदिन सुन्न पाइन्छ । संसार देखाउने आमा माथि यस्तो अभद्र, अमानवीय व्यवहार भइरहँदा समाज, प्रहरी प्रशासन पनि अनभिज्ञ भएजस्तो गर्नु शिवाय अरु केही देखिँदैन । अपराधीलाई कार्वाही र पिडितलाई न्याय नदिलाउँदा अपराधीको मनोवल बढ्ने र पीडितले न्यायको लागि हात फैलाउन जाँदा जाँदै मृत्यूवरणको दिन आउने नियती पनि भोगिरहनु परेको छ । आफ्नै परिवारका सदस्य विरुद्ध उत्रनु पर्ने अवस्था पनि आएका छन् त्यसकारण सुरक्षा गृहको आवश्यकता महशुस भएको छ र सरकारले नै यसको व्यवस्था गर्न थालेको छ ।
महिला माथि हुने हिंसाका रुपहरु नयाँ–नयाँ ढँगबाट मञ्चन हुन थालेको छ । योजनावद्ध ढँगबाट महिलमाथि र्हिसाका स्वरुपहरु फरिएर हुन थालेका छन् । जसलाई बढी विश्वास गरिन्छ उसैबाट मृत्यूलाई सव्किार गर्न बाध्य हनु परेको अवस्था छ । आफ्नै भनिएका आफ्न्तबाट नाटकीय ढँगले महिलाको अस्मिता र चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने घट्नाहरु थपिंदैछन् । महिलामाथि हिंसा गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गराउनका लागि योगमायाले शुरु गरेको धार्मिक जाग।ण र आत्मदाह, निरंकुश राणशासन विरुद्धको अभियानमा नेपाली महिलाले देखाएको उत्साह र त्यसपछि क्रमशः शैक्षिक जागरण, राजनीतिक सहभागिता र समानताका निमित्त लडेका, डटेका महिला मुक्तिका आवाजहरुलाई इतिहासमा साक्षी राख्दै अघि बढ्नु अझै र आजको आवश्यकता हो । अबको दिनमा नेपाल आमाले योगमाया जस्ता थुप्रै नारीहरु जन्माउन र जन्मिन सक्नुपर्छ, जसले महिला मुक्तिका आवाजहरुलाई अझ बुलन्द र प्रभावकारी बनाएर लैजान सक्नेछन् । अनि हरेक व्यक्तिले आफूभित्र रहेको पित्तृसत्तात्मक सोंचलाई परिर्वतन गर्नसक्नु पर्छ । उक्त परिवर्तनका खातिर महिलाहरु अझै डट्नु पर्छ ।

सम्बन्धित समाचार