दोलखा/दोलखाका नागरिक प्रतिनिधिहरु ले मूडे चरिकोट सडक खण्डमा भै रहेको सडक विस्तार र कालोपत्रेको काम अत्यन्त सुस्त रहेकोले हाल काम गरिरहेको निर्माण कम्पनिसंग ठेक्का रद्द गरेर नयाँ ढङ्गले निर्माणको काम अगाडि बढाउनु पर्ने बताएका छन् ।
युएसएआईडि र एफएचआई ३६० परियोजनाको सहयोगमा मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत रेडियो शैलुङको साझेदारीमा सञ्चालित मूडे चरिकोट निर्माणमा ढिलासुस्ती विषयक साझा सभा कार्यक्रमका सहभागिहरुले सडक निर्माण यो बर्षको बर्षा याम अघि सकिने सम्भावना नरहेकोले ठेक्का रद्द गरी नयाँ ढङ्गले काम सुरु गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा सहभागि लामोसाँघु मूडे चरिकोट निर्माणमा भएको ढिला सुस्ती विरुद्ध नागरिक खबरदारी अभियानका सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी, दोलखा उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार श्याम खतिवडा, होटल संघ दोलखाका सदस्य पुष्कर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष मन्दिरा थापा, नेपाल रेडक्रस सोशाईटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल, बाल अधिकारकर्मी राजन वस्नेत लगायतले काममा ढिलासुस्ती गरेको र सम्पन्न थोरै काम पनि गुणस्तरहिन भएको आरोप लगाउदै तत्काल ठेक्का रद्द गर्नु पर्ने बताउनु भएको थियो ।
दोलखा जिल्ला निर्माण व्यवसायी संघका महासचिव राजेश थापाले बिभिन्न ठाँउमा ठेकेदारले काममा लार्पवाहि गर्दा राम्रो काम गर्नेहरु समेत बद्नाम हुनु परेको गुनासो गर्नुहुदै मूडे चरिकोट सडकमा केहि प्रगति देखिएकोले काम हुने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागि लामोसाँघु तामाकोसी जिरी सडक आयोजनाका प्रमुख दिप वाराहिले ठेक्का तोड्दा कानुनी समस्याका कारण तत्काल अर्को ठेक्का लगाएर काम गर्न समस्या हुने भएकोले सकेसम्म अहिलेकै ठेकेदारबाट काम गराउने र त्यो सम्भव हुदै भएन भने ठेक्का तोडेरे भएपनि नयाँ ठेकेदार मार्फत् काम गराउने बताउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले सडक निर्माणको काम समयमै सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालयले कानुनी दायरा भित्र रहेर अधिक प्रयत्न गरिरहेको उल्लेख गर्दै आयोजनाले ठेकेदारले काम नगरेकोले पक्राउ गरी आवश्यक कार्वाहि गर्न भनि लिखित रुपमा दिए ठेकेदारलाई पक्राउ गरी कानुनी रुपमा आवश्यक कार्वाहि गर्न सकिने बताउनु भयो । कार्यक्रमको सभापतित्व हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले गर्नु भएको थियो भने सहजिकरण पत्रकार सरद सापकोटाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्