दोलखा/दोलखामा शुक्रवार पाँच जनामा कोरोना संक्रमण देखिएको छ । भीमेश्वर नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटबाट असोज २८ गते ९ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणका लागि पठाईएको मध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख श्याम खड्काले बताउनु भयो । उहाँका अनुसार पुननिर्माण सम्वन्धी काम गर्ने सरकारी कार्यालयका कर्मचारी तीन जना, चरिकोटमा रहेको बैँकका कर्मचारी एक जना र नगरपालिकाका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो ।
यसै बीच जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र दोलखाको शुक्रवार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएकोले दशै लगायतका ठूला चाँडको लागि काठमाडौँ तथा अन्यत्रबाट आउने नागरिकलाई अनिवार्य होम क्वारिन्टीनमा राख्न स्थानिय पालिकाहरुलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले त्यसरी पालिकामा आउने नागरिकहरुमा स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्था लान र स्वास्थ्यकर्मीको निर्देशन अनुसार आईसोलेशनमा राख्नु पर्ने भए त्यसको व्यवस्थापन गर्न समेत आग्रह गरेको छ । त्यसैगरी बैठकले गृहको निर्देशन अनुसार जिल्लामा रहेको मठ मन्दिर तथा शक्तिपिठहरुमा नित्य पुजा बाहेकका पुजाहरु नगर्न निर्देशन गरेको छ । त्यसैगरी बैठकले जिल्लाको केहि कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकाले ती कार्यालयहरुको निश्चित शाखा या पुरै कार्यालय न्युनतम ६ दिन बन्द गर्न र अन्य कार्यालयहरुमा समेत उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया दिनुहोस्