पैसा तिरेरै किनेको प्रमुख / उपप्रमुखको दावि
दोलखा/दोलखाको बैतेश्वर गाँउपालिकामा केन्द्र निर्माणको क्रममा भएको जग्गा अपचलनमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताको समेत संलग्नता देखिएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले संलग्नलाई कार्वाहि सुरु गरेको छ ।
जग्गा अपचलन विवाद उत्कर्षमा पुगेपछि नेकपा दोलखाले सचिवालय सदस्य भीमप्रसाद दहालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले बुझाएको प्रतिवेदनको आधारमा नेकपा दोलखाले बैतेश्वर गाँउपालिकाका उपाध्यक्ष एवं नेकपा जिल्ला कमिटी सदस्य रविचन्द्र आचार्य र गाँउपालिकाको केन्द्रको लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिका सदस्य एवं नेकपा जिल्ला कमिटी सदस्य बालकुमार दहाललाई जिल्ला कमिटी सदस्य तथा सङ्गठित सदस्य समेतबाट निलम्बन गर्न पार्टीको प्रदेश कमिटीलाई सिफारीस गरेको छानविन समितिका सदस्य एवं नेकपा दोलखाका प्रचार विभाग प्रमुख लक्ष्मण खड्काले बताए ।
त्यसैगरी केन्द्रको लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिका सदस्य एवं नेकपा बैतेश्वर गाँउपालिका सङ्गठन कमिटीका सदस्य पदमबहादुर दहाललाई सङ्गठित सदस्य तथा गाँउपालिका सङ्गठन कमिटीबाट निलम्बन गरिएको पार्टी प्रचार विभाग प्रमुख खड्काले बताए ।
नेकपा दोलखाले बनाएको छानविन समितिले जग्गादाता व्यक्तिहरुको जग्गा बालकुमार दहाल तथा पदमबहादुर दहालको नाममा रजिष्ट्रेशन पारित गर्नु, जग्गा दाताहरुले दिएको जग्गाहरु मध्य अहिलेसम्म ४३.९ रोपनी जग्गामात्र गाँउपालिकाको नाममा आउनु र झण्डै तीन बर्ष पुग्नलाग्दा सम्म पनि व्यक्तिको जग्गा फिर्ता नगर्नु, जनताबाट बालकुमार दहाल र पदमबहादुर दहालको नाममा पारित गरेको जग्गा जनप्रतिनिधिको श्रीमती र आफन्तहरुको नाममा रजिष्ट्रेशन पारित गरी लिनु र गाँउपालिकाले बनाएको छानविन समितिको प्रतिवेदनमा समेत खर्च मिलान गर्न जग्गा बिक्रि गरिएको स्वीकारोक्ति हुनु जस्ता कारणले जग्गा अपचलन भएको देखिएको निष्कर्ष निकालेको छ ।
केहि दिन अघि बैतेश्वर गाँउपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पनि जग्गा मिलान लिन दिन गर्दा लाग्ने खर्च जुटाउन केहि जग्गा बिक्रि गर्ने निर्णय बमोजिम जनप्रतिनिधिको श्रीमती र आफन्तलाई जग्गा बिक्रि गरेको विवरण उल्लेख गरेको छ । उक्त प्रतिवेदनमा गाँउपालिका प्रमुख छवि लामा र उपप्रमुख रविचन्द्र आचार्यको श्रीमतीले समेत जग्गा खरीद गरेको देखिएको छ ।
गाँउपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सम्शेर घिसिङले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार सोधभर्ना बापत २८ जना जग्गा धनिहरुबाट १३ हजार दुई सय ५१ वर्ग मीटर जग्गा प्राप्त भएकोमा ११ हजार तीन सय ९६ वर्ग मीटर जग्गा सोध भर्ना गरिएको र एक हजार नौ वर्ग मीटर जग्गा खर्च मिलानको लागि बिक्रि गरिएको छ । सोध भर्ना गर्न बाँकी आठ सय ४९ वर्ग मीटर जग्गा मध्य छ सय १४ वर्ग मीटर जग्गा बालकुमार दहालको नाममा र दुई सय ३५ वर्ग मीटर जग्गा पदमबहादुर दहालको नाममा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर जग्गा दाताहरु मध्यका पदमबहादुर दहाल, टेकबहादुर दहाल लगायत केहिले भने जग्गा व्यवस्थापन गर्न बनेको समितिको सदस्यहरुको सहमतिमै आफुहरुले फिर्ता पाउनु पर्ने जग्गा मध्यको केहि जग्गाहरु पालिकाका पदाधिकारीहरुलाई दिईएको बताएका छन् । केहि जग्गा बालकुमार र पदमबहादुरको नाममै रहेको भएपनि आफुहरुलाई दिन बाँकी केहि जग्गा अझै नदिएको पीडित जग्गा दाताहरुले बताएका छन् ।
गाँउपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख छवि लामा र उपप्रमुख रविचन्द्र आचार्यले भने आफुहरलाई जग्गा निशुल्क प्राप्त भएको नभै खरीद गरेको प्रष्टिकरण दिएका थिए । गाँउपालिकाको नाममा आएको जग्गा बाहेक जग्गा दाताहरुलाई जग्गा मिलान लिन दिन गर्दा लागेको खर्च गाँउपालिकाले ब्यहोर्न नमिल्ने र जग्गा बिक्रि गरेर खर्च जुटाउने निर्णय भएपनि अरुले जग्गा खरीद गर्न नमानेको कारण आफुहरुले नै जग्गा खरीद गरीदिएको गाँउपालिका प्रमुख छवि लामाले बताए । गाँउपालिका उपप्रमुख रविचन्द्र आचार्यले पनि आफुले कानुनले दिएको अधिकार प्रयोग गर्दै गाँउपालिकासंग असम्बन्धित जग्गा समेत खरीद गरेको बताए ।
हामीले निशुल्क रुपमा जग्गा लिएका हैनौ र हामीलाई जग्गा खरीद गर्ने कुरामा कानुनले रोक्न सक्दैन गाँउपालिका प्रमुख छवि लामाले भने – त्यसैले हामीले पैसा हालेर जग्गा खरीद गरेको कुरा अपचलन हुन सक्दैन ।
नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल भने केन्द्र निर्माण गर्न गाँउलेले गाँउपालिकालाई दिएको जग्गा व्यक्तिको नाममा राख्ने र तिनै व्यक्तिहरुले अरुलाई उक्त जग्गा बिक्रि वितरण गर्ने कुरा अपचलन नै हुने बताउछन् । राम्रो नियत थियो भने त्यतिबेलै जग्गादाताबाटै सोधभर्ना पाउनेको नाममा जग्गा पास गरिदिनु पर्ने नेकपा अध्यक्ष पोखरेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्